हेटौँडा-काठमाडौं आवतजावतमा ‘वान–वे’ रुट लागू



हेटौँडा, भदौ १६ । हेटौँडा-काठमाडौं सडकखण्डमा सवारीसाधनको चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीसाधनका लागि ‘वान–वे’ रुट प्रणाली लागू गरिएको छ।

नयाँ व्यवस्थाअनुसार १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधनले हेटौँटाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै यात्रा गर्नुपर्नेछ।

काठमाडौंंँबाट हेटौँडा फर्किने सवारीसाधनले भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदीको मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनका लागि पनि छुट्टाछुट्टै मार्ग तोकिएको छ। त्यस्ता सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र हेटौँडा फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढेको हो।

मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक सडकमा सवारीको चाप अत्यधिक बढ्दा जाम र लामो समयसम्म सवारी रोकिने समस्या देखिएपछि प्रशासनले रुट व्यवस्थापन गरेको जनाएको छ।

नयाँ ‘वान–वे’ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी चाप तथा जाम घटाउनुका साथै यात्रुलाई सहज रूपमा आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रशासनले तोकिएको रुटअनुसार सवारी सञ्चालन गर्न चालक तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार ०७:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको