शेखरको बैठकमा गगनले मनोनीत गरेका नेतादेखि देउवानिकट नेतासम्म सहभागी



काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनको सम्भावना बढ्दै गएपछि आफूनिकटसहित विभिन्न नेताहरूसँग छलफल गरेका छन्।

पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी अघि बढाएपछि कोइरालाले मंगलबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा नेताहरूलाई बोलाएर आन्तरिक छलफल गरेका हुन्।

कोइराला सचिवालयका अनुसार बैठकमा पार्टी एकता कायम राख्ने विषयमा केन्द्रित भएर छलफल भएको थियो। सहभागी नेताहरूले सभापति गगन थापा र पूर्वसभापति देउवासँग संवाद गरी पार्टीलाई विभाजनबाट जोगाउन कोइरालालाई आग्रह गरेका थिए।

बैठकमा पूर्वउपसभापति धनराज गुरुङ, पूर्वसहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, बलबहादुर केसी, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईं र मिनेन्द्र रिजाललगायत सहभागी थिए।

त्यस्तै किरण पौडेल, पदमनारायण चौधरी, नैनसिंह महर, किरण यादव, रंगमती शाही, गणेश लामा, अम्बिका बस्नेत, दिलेन्द्रप्रसाद बडू, डा। गोविन्दराज पोखरेल, दिनेश कोइराला, उमेशजंग रायमाझी, पुष्प पराजुली, रामकृष्ण चित्रकार, भूपेन्द्रजंग शाही, तिलक रुवाली, विनोद कायस्थ र हरि अधिकारी पनि बैठकमा सहभागी भएका थिए।

बैठकमा विश्व अर्याल, हुर्मत न्यौपाने, गीता सेन्दाङ, डा। चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला, रिना उप्रेती, वासुदेव जङ्गली, गीता देवकोटा, विष्णु सापकोटा र रञ्जित कर्णलगायत नेताहरूको पनि सहभागिता थियो।

बैठकमा शेखर कोइरालानिकट नेताहरू मात्रै नभई पार्टी विभाजनको विपक्षमा रहेका देउवानिकट नेताहरूको समेत सहभागिता रहेको बताइएको छ।

विशेषगरी सभापति गगन थापाले हालै केन्द्रीय सदस्यमा मनोनीत गरेका सुजाता कोइराला, जीवन परियार, डा। गोविन्दराज पोखरेल र दिनेश कोइरालासमेत बैठकमा सहभागी भएपछि छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कांग्रेसभित्र पार्टीको महाधिवेशन, नेतृत्व विवाद र समानान्तर गतिविधिका कारण आन्तरिक विवाद बढिरहेका बेला कोइरालाले विभिन्न पक्षका नेताहरूसँग गरेको छलफललाई पार्टी एकता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार १७:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको