सर्लाहीमा विद्यार्थीको कुटपिटबाट प्रधानाध्यापक घाइते, एक जना पक्राउ



सर्लाही, भदौ १६ । सर्लाहीको बलरा नगरपालिका–४ स्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यार्थीको समूहले कुटपिट गरेको छ।

विद्यालयमा गत शुक्रबार भएको सरसफाइ कार्यक्रममा छात्राहरूप्रति असभ्य शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप लगाउँदै विद्यार्थीहरूले सोमबार दिउँसो प्रधानाध्यापक झामाथि विद्यालय परिसरमै कुटपिट गरेका हुन्।

विद्यार्थीका अनुसार प्रधानाध्यापक झाले छात्राहरूप्रति प्रयोग गरेको भनिएको शब्दका विषयमा माफी माग्न आग्रह गरिएको थियो। तर, उनले माफी माग्न अस्वीकार गरेपछि विद्यार्थीको समूहले उनीमाथि कुटपिट गरेको हो।

कुटपिटका क्रममा प्रधानाध्यापक झालाई लछारपछार गर्नुका साथै अर्धनग्न पारिएको बताइएको छ। विद्यार्थीहरूले उनको निजी सवारीसाधनमा समेत तोडफोड गरी क्षति पुर्‍याएका छन्।

घटनापछि विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ। बलरा नगरपालिका–४ घर भएका प्रधानाध्यापक झा हाल रौतहटको शिवनगरमा बस्दै आएका छन्। घटनापछि उनीसहित बलरा बाहिरबाट विद्यालयमा आउने १०–१२ जना शिक्षक विद्यालय जान नसकेको झाले बताएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बलरा नगरपालिका–२ का २० वर्षीय अभिषेक कापडलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार कापडलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रधानाध्यापक झाले भने आफूले कुनै पनि छात्रामाथि असभ्य शब्द प्रयोग नगरेको दाबी गरेका छन्। उनले मंगलबार जिल्ला प्रहरी कार्यालय मलङ्गवा पुगेर प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेललाई घटनाबारे जानकारी गराएका छन्।

यसैबीच, घटनाबारे छानबिन गर्न बलरा नगरपालिकाले समिति गठन गर्ने तयारी गरेको छ। नगरप्रमुख रामाशंकरप्रसाद कुशवाहाले छानबिन समितिले बुझाउने प्रतिवेदनका आधारमा दोषीमाथि आवश्यक कारबाही अघि बढाइने बताए।

विद्यालयको पठनपाठन प्रभावित भएपछि नगरप्रमुख कुशवाहा, शिक्षा अधिकृत तथा स्थानीय सुरक्षा अधिकारीसहितको टोली मंगलबार विद्यालय पुगेको थियो। टोलीले उपलब्ध शिक्षकलाई पठनपाठन नियमित गर्न निर्देशन दिएको नगरप्रमुखले जानकारी दिए।

घटनापछि विद्यालयको सुरक्षा, शिक्षक–विद्यार्थीबीचको सम्बन्ध तथा पठनपाठनको वातावरणलाई सामान्य बनाउन स्थानीय प्रशासन र नगरपालिकाले पहल थालेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार १६:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको