काठमाडौं, भदौ १६ । रसुवामा आएको बाढीका कारण मृत्यु भएका १ हजार ५८ जनाको शव हालसम्म फेला परेको छ। नेपाल प्रहरीले मंगलबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै उक्त तथ्यांक जनाएको हो।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला र ३७१ पुरुष छन्। यस्तै, ३९० वटा आंशिक अंग भएका शवसमेत फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका शवमध्ये ९७२ वटाको लास जाँच मुचुल्का भइरहेको छ। शवको पहिचान तथा कानुनी प्रक्रिया पूरा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।
हालसम्म ५८ शव पहिचानपछि आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान खुल्न नसकेका ६८४ शव भने आवश्यक प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, बाढी तथा विपद्का कारण अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। मंगलबार दिउँसोसम्मको विवरणअनुसार ४ हजार ६०६ जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीनको खोजी तथा फेला परेका शवको पहिचान र व्यवस्थापनका लागि सुरक्षा निकायले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।






