काठमाडौँ , भदौ १७। भदौ १० गते आएको भोटेकोशी बाढीका क्रममा विभिन्न स्थानबाट संकलन गरिएका ८५ वटा पहिचान नखुलेका शव काठमाडौंमा व्यवस्थापन गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३ को पहिलो संशोधनअनुसार शवहरूको डीएनए नमुना सुरक्षित राखेर व्यवस्थापन गरिएको हो। यसअघि ती शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएका थिए।
प्रहरीका अनुसार शवहरू गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा पुरिएका छन्।
शवहरूको डीएनए नमुना सुरक्षित राखिएकाले भविष्यमा आफन्तले दाबी गरेमा परीक्षणमार्फत पहिचान गरी शव हस्तान्तरण गर्न सकिने प्रहरीले जनाएको छ। आफन्तले शवबारे जानकारी वा दाबी गर्न महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार शवहरूको व्यवस्थापन अन्तर्राष्ट्रिय रेडक्रस समिति ९आईसीआरसी० को प्रोटोकलअनुसार गरिएको हो।
भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढीपछि विभिन्न स्थानबाट शव संकलन गरी पहिचान तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको थियो।






