काठमाडौं, भदौ १७ । विभाजनको संघारको पुगेको नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको छुट्टै १५औँ महाधिवेशन आगामी मंसिरमा सम्पन्न गर्ने प्रस्ताव अघि सारेको छ।
काठमाडौंको चुनदेवीमा जारी देउवा समूहको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।
महाधिवेशनअघि पार्टीका विभिन्न तहका अधिवेशन तथा निर्वाचन सम्पन्न गर्ने कार्यतालिकासमेत बैठकमा प्रस्ताव गरिएको छ। प्रस्तावित कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन गर्ने उल्लेख छ।
त्यसपछि असोज २० गते पालिका अधिवेशन गर्ने र असोज २३ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, कात्तिक १५ गते जिल्ला अधिवेशन तथा मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ।
देउवा समूहको बैठकले महाधिवेशनको मिति र अधिवेशनका विभिन्न चरणको कार्यतालिकाबारे छलफल गरिरहेको छ। बैठकबाट पारित प्रस्तावका आधारमा आगामी महाधिवेशनको तयारी अघि बढाउने देउवा समूहको तयारी छ।






