देउवा पक्षको सनातन धर्मसम्बन्धी प्रस्तावले कांग्रेसभित्रै बढायो बहस



काठमाडौँ, भदौ १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले सनातन हिन्दु धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेपछि कांग्रेसभित्रै नयाँ राजनीतिक तथा वैचारिक बहस सुरु भएको छ।

देउवा नेतृत्वमा सम्पन्न राष्ट्रिय भेलाले पारित गरेको पाँच निर्णयमध्ये तेस्रो बुँदामा नेपालमा कायम धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै हिन्दु, बौद्ध, किराँत तथा प्राकृत धर्मको संरक्षणलाई ध्यानमा राखेर सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस निर्णयलाई कतिपय कांग्रेस नेताहरूले पार्टी हिन्दु राष्ट्रको पक्षमा अघि बढ्न खोजेको संकेतका रूपमा व्याख्या गरेका छन्। उनीहरूले आगामी १५औँ महाधिवेशन तथा संविधान संशोधनको बहसमा समेत यो विषयलाई उठाउने बताएका छन्।

राष्ट्रिय भेलाबाट प्राप्त सुझाव र पारित प्रस्तावलाई परिमार्जनसहित लिखित रूप दिन नेता एनपी साउदको नेतृत्वमा समिति गठन गरिएको छ। साउदले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने विषयमा संवाद अघि बढाइने बताएका छन्। उनका अनुसार देउवा पक्ष धर्म निरपेक्षताको भन्दा धार्मिक स्वतन्त्रताको पक्षमा उभिएको हो।

यसअघि २०८० फागुनमा सम्पन्न कांग्रेस महासमिति बैठकमा पनि हिन्दु राष्ट्रको पक्षमा १ हजार ७ जना महासमिति सदस्यले शंकर भण्डारीको नेतृत्वमा हस्ताक्षर गरी पार्टी नेतृत्वलाई बुझाएका थिए। उक्त दस्तावेजमा अहिले देउवा पक्षको नेतृत्वमा रहेका शशांक कोइरालाले समेत हस्ताक्षर गरेका थिए।

तर, देउवा पक्षभित्रै प्रस्तावलाई लिएर मतभेद देखिएको छ। नेता विमलेन्द्र निधिले संविधानमा रहेको धर्म निरपेक्षताको व्यवस्था यथावत् राखेर अघि बढ्नुपर्ने धारणा राखेका छन्। भेलाका प्रचार प्रमुख मिन विश्वकर्माले पनि सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्तावप्रति असहमति जनाएका छन्।

उता कांग्रेसको संस्थापन पक्षले पार्टीले आधिकारिक रूपमा नचिनेको भेलाबाट पारित निर्णयलाई कांग्रेसका आधिकारिक दस्तावेज मान्न नसकिने बताएको छ। संविधानमै धर्म निरपेक्षताको व्यवस्था रहेकाले अहिले आएको प्रस्तावले कांग्रेसभित्रको वैचारिक तथा राजनीतिक विवादलाई थप पेचिलो बनाउने देखिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार ०७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको