आज प्रतिनिधिसभा बैठक बस्दै, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने



काठमाडौँ, भदौ १७ । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्ने तयारी छ।

संसद् सचिवालयले तयार पारेको विशेष प्रस्तावमा २०८३ भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गरिएको छ।

बाढीका कारण धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा समेत ठूलो जनधनको क्षति भएको तथा स्वदेशी र विदेशी नागरिकसमेत बेपत्ता र मृत्यु भएको घटनाप्रति प्रस्तावमार्फत दुःख व्यक्त गरिनेछ।

त्यसैगरी, बाढीबाट घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा दिवंगतहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिने प्रस्तावमा उल्लेख छ।

यसैबीच, आज संघीय संसद्अन्तर्गतका विभिन्न समितिका बैठकसमेत बस्दैछन्।

बिहान ९ः३० बजे अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बस्नेछ। उक्त बैठकमा रसुवा बाढी तथा पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल हुने कार्यसूची छ।

त्यस्तै, दिउँसो १२ः१५ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुने बताइएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १७, बुधबार ०७:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको