काठमाडौं, भदौ १७ । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको तत्काल उद्धार गर्न नसकिएको अवस्थाबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद् असाधारण प्रकृतिको रहेको बताए। बाढीसँगै ठूलो मात्रामा माटो र लेदो सुरुङभित्र पसेर पूर्णरूपमा थुनिएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको उनको भनाइ थियो।
उनले अन्य मुलुकमा पहिरोका कारण सुरुङ अवरुद्ध हुँदा पहिरो हटाएर उद्धार गर्ने अभ्यास रहे पनि नेपालमा देखिएको अवस्था त्यसभन्दा फरक रहेको बताए।
प्रधानमन्त्री शाहले भने, “यहाँ पहिरो खसेको होइन, बाढीसँगै हिलो र माटो पसेर टनेल पूर्णरूपमा थुनिएको छ। यस्तो अवस्थामा तत्काल उद्धार गर्न सकिने प्रविधि अहिलेसम्म विश्वमै उपलब्ध छैन।”
उनका अनुसार सुरुङ बाहिरसमेत ठूलो मात्रामा हिलो र लेदो जमेकाले सुरक्षाकर्मीलाई उद्धारका लागि आवश्यक उपकरणसहित काम गर्ने स्थान बनाउन कठिन भएको थियो।
लेदोमा नेपाली सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत सहज रूपमा उभिन सक्ने अवस्था नरहेको प्रधानमन्त्री शाहले बताए। उद्धार टोलीले सुरुङसम्म पुग्न विभिन्न प्रयास गरे पनि प्रारम्भिक अवस्थामा एक्साभेटर तथा हेलिकोप्टरसमेत परिचालन गर्न सक्ने आधार तयार नभएको उनले जानकारी दिए।
“लेदोमा सेना र सशस्त्र प्रहरी पनि अडिन सक्ने अवस्था थिएन। उहाँहरूले सुतेरै पुग्ने प्रयास गर्नुभयो। एक्साभेटर र हेलिकोप्टर राख्न सकिने अवस्था पनि थिएन,” प्रधानमन्त्री शाहले भने।
आवश्यक रूपमा सुरक्षित स्थान तयार भएपछि मात्रै उद्धार तथा खोजीको काम अघि बढाउन सकिएको उनले बताए।
प्रधानमन्त्री शाहले विपद्को प्रकृति जटिल भए पनि सरकार उपलब्ध सबै स्रोतसाधन परिचालन गरेर उद्धार तथा राहतमा जुटिरहेको जानकारी संसदलाई गराएका छन्।






