काठमाडौं, भदौ १८ । नेकपा नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र भविष्यमा हुने प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताएका छन्।
पुनले प्रधानमन्त्रीसमक्ष १८ बुँदे सुझाव प्रस्तुत गर्दै विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गर्न सरकारलाई आग्रह गरेका छन्।
उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद्को विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा पनि जोड दिएका छन्। त्यसका लागि प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर विश्व समुदायको ध्यानाकर्षण गराउनुपर्ने उनको सुझाव छ।
पुनका अनुसार विश्वव्यापी कार्बन उत्सर्जन, जलवायु परिवर्तन र तापमान वृद्धिका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम बढिरहेको छ। यसलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्दै नेपालले जलवायुजन्य क्षतिबापत क्षतिपूर्ति दाबी गर्नुपर्ने उनले बताएका छन्।
त्यस्तै, हिमनदी पग्लने क्रम, हिमताल विस्फोटको जोखिम, चट्टान तथा हिमपहिरो, बाढी र पहिरोजस्ता विपद् न्यूनीकरणका लागि ‘राष्ट्रिय हिमालय जलवायु तथा विपद् कोष’ स्थापना गर्नुपर्ने प्रस्ताव पनि उनले गरेका छन्।
अन्तर्राष्ट्रिय जलवायु वित्त परिचालन गरी हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली, वैज्ञानिक अनुसन्धान, जलवायु अनुकूलन तथा सुरक्षित पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्ने पुनको सुझाव छ।
उनले नेपाल र चीनबीच संयुक्त हिमालय विपद् निगरानी तथा अनुसन्धान संयन्त्र स्थापना गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्। यसअन्तर्गत दुवै देशका संयुक्त वैज्ञानिक टोलीले नियमित रूपमा हिमाली क्षेत्रको अध्ययन तथा जोखिम मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ।
पुनले विपद्का कारण क्षतिग्रस्त सडक, पुल, बजार, बस्ती तथा जलविद्युत् आयोजनाको पुनर्निर्माण गर्दा पुरानै संरचनालाई जस्ताको तस्तै पुनःनिर्माण गर्नुभन्दा पहिले विस्तृत बहुविपद् जोखिम मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।
जोखिम मूल्याङ्कनका आधारमा असुरक्षित स्थानमा रहेका बस्ती तथा संरचनालाई सुरक्षित क्षेत्रमा पुनर्स्थापना गर्दै जलवायु–प्रतिरोधी पूर्वाधार निर्माण गर्नुपर्ने उनको सुझाव छ।
पुनले विपद् व्यवस्थापनलाई राहत र उद्धारमा मात्र सीमित नराखी दीर्घकालीन पुनर्निर्माण, जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र सुरक्षित पूर्वाधार विकाससँग जोड्नुपर्नेमा जोड दिएका छन्।






