काठमाडौं, भदौ १८ । सरकारले रसुवामा आएको भीषण बाढीका कारण ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा घटना भएको १३औँ दिनको पुण्यतिथिमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सरकारको निर्णयअनुसार भदौ २२ गते सोमबार देशभर राष्ट्रियशोक मनाइनेछ। उक्त दिन नेपालभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
त्यसैगरी, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
सरकारले रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। मृतकप्रति सम्मान व्यक्त गर्न राष्ट्रियशोक मनाउने निर्णय गरिएको हो।






