काठमाडौं, भदौ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले विपद् व्यवस्थापन तथा राहत कार्यमा सरकारलाई बल पुग्ने गरी अघि बढ्ने निर्णय गरेको हो।
बैठकमा पार्टीका उपसभापति एवं अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विपद्पछिको खोजी, उद्धार, राहत तथा सरकारले गरिरहेका कामको प्रगतिबारे जानकारी गराएका थिए। रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार विपद् व्यवस्थापन तथा राहतका लागि सरकारी कोषमा हालसम्म करिब ८ अर्ब रुपैयाँ संकलन भएको जानकारी बैठकमा दिइएको थियो।
सीमित स्रोतसाधनका बाबजुद सरकारले खोजी, उद्धार तथा राहतमा देखाएको सक्रियता र तदारुकताप्रति बैठकले सन्तोष व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएको प्रवक्ता खरेलले बताए।
बैठकले खोजी तथा उद्धारको कामलाई निरन्तरता दिँदै प्रभावित नागरिकको पुनःस्थापना र पुनर्निर्माणको तयारी पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ।
बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल तथा विभिन्न राजनीतिक दलहरूले विपद्को समयमा देखाएको ऐक्यबद्धताबारे जानकारी गराएका थिए।
रास्वपाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन दीर्घकालीन रूपमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।
प्राकृतिक विपद्को सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै रास्वपाले तीनै तहका सरकारलाई आफ्नो तर्फबाट दरिलो र पूर्ण सहयोग गर्ने निर्णयसमेत गरेको छ।






