महोत्तरी, भदौ २० । महोत्तरीमा सशस्त्र प्रहरीले करिब २ करोड ४० लाख रुपैयाँ बराबरका एप्पल कम्पनीका १ हजार २ सय थान एयरपड्स बरामद गरेको छ।
सोनमा गाउँपालिका–६ स्थित मगरथानाबाट शनिबार बिहान भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको अवस्थामा उक्त एयरपड्स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं। ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोस्ट खैरवनीबाट परिचालित टोलीले संयुक्त रूपमा एयरपड्स बरामद गरेको हो।
बरामदगीमा सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशदत्त पाण्डे र सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरी नेतृत्वका टोली संलग्न थिए।
एयरपड्स ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीलाई देखेपछि सामान छाडेर फरार भएका थिए।
बरामद एयरपड्स आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।






