बाढीले घरसहित बगाएकी चन्डिका ११ दिनपछि जीवितै उद्धार



काठमाडौं, भदौ २०। नुवाकोटको बेत्रावतीमा भोटेकोशी बाढीले घरसहित बगाएकी चन्डिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ।

बाढीले बगाएको घर करिब ५० मिटर पर पुगेको र सोही घरको संरचनाबाट शनिबार चन्डिकाको उद्धार गरिएको स्थानीयले बताएका छन्।

स्थानीय नारायणलाल डंगोलका अनुसार चन्डिकाको घर उनको घरभन्दा करिब ७० मिटर पछाडि रहेको थियो। बाढीले घर नै बगाएर आफ्नो घर रहेको स्थानबाट करिब ५० मिटर पर पुर्‍याएको उनले बताए।

विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार बाढीले बगाएको घरतर्फबाट मानिसको आवाज सुनिएपछि उद्धारका लागि प्रहरीलाई खबर गरिएको थियो। सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेर चन्डिकाको उद्धार गरेको हो।

उद्धारपछि चन्डिकालाई उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल ल्याइएको उनका देवरले जानकारी दिएका छन्। उनका श्रीमान् भने अझै सम्पर्कविहीन रहेको बताइएको छ।

भदौ १० गते आएको बाढीपछि ११ दिनसम्म सम्पर्कविहीन रहेकी चन्डिका जीवितै भेटिएपछि बाढीले क्षति पुर्‍याएका अन्य घर तथा संरचनाभित्र पनि मानिस फसेको हुनसक्ने आशंका बढेको छ।

यसअघि शनिबार नै अपर त्रिशूली–१ आयोजनाबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको थियो। त्यसैगरी शुक्रबार त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो।

बाढी तथा पहिरोबाट रसुवा गढीदेखि धादिङको गलौंदीसम्म ठूलो क्षति पुगेको छ। कतिपय घर बाढीले बगाएको तथा कतिपय पुरिएका छन्। ती संरचनाभित्र समेत मानिस फसेको हुनसक्ने भन्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।

प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार १५:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको