पृथ्वी राजमार्गको परेवाभिर खण्ड १२ घण्टा बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह



धादिङ, भदौ २० । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्ड शनिबार १२ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण परेवाभिर क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि उक्त खण्डमा हाल एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सडकको मर्मत तथा सुधार कार्य गर्नुपर्ने भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

प्रशासनका अनुसार सडक मर्मत भइरहने अवधिमा एम्बुलेन्स र शववाहनबाहेक सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

सडक बन्दका कारण यात्रु तथा सवारीचालकलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले निर्धारित समय अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

मर्मत कार्य निर्धारित समयमै सम्पन्न गरी सडक सञ्चालनमा ल्याउने तयारी गरिएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार ०७:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको