संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख डलर सहयोग गर्ने



काठमाडौं, भदौ २० । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग जुटाउने भएको छ।

बाढी तथा पहिरोपछि उत्पन्न मानवीय संकट सम्बोधन गर्न राष्ट्रसङ्घले मानवीय सहायता साझेदार संस्थासँग उक्त रकमका लागि अपिल गरेको हो। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्‍याउने उद्देश्यले शुक्रबार अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरिएको राष्ट्रसङ्घले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको चार महिनाको योजनालाई सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालस्थित राष्ट्रसङ्घको कार्यालयले जनाएको छ। विशेषगरी हिमाली तथा दुर्गम बस्तीमा हिउँद सुरु हुनुअघि देखिन सक्ने कठिनाइ र सरुवा रोगको जोखिम न्यूनीकरणमा सहयोग केन्द्रित गरिनेछ।

योजनाअन्तर्गत प्रभावित परिवारलाई आवश्यकताअनुसार नगद सहयोग, अस्थायी आवासका सामग्री तथा विद्युत् पहुँच नभएका क्षेत्रमा सौर्य उपकरण उपलब्ध गराउने तयारी छ। साथै क्षतिग्रस्त खानेपानी प्रणाली मर्मत, पानी शुद्धीकरण प्रणाली जडान र सरसफाइ सामग्री वितरणमार्फत पानीजन्य रोगको जोखिम घटाउने लक्ष्य राखिएको छ।

त्यसैगरी घुम्ती स्वास्थ्य शिविरमार्फत उपचार तथा पोषण सहयोग, परिवारबाट छुट्टिएका बालबालिकाको संरक्षण र पुनर्मिलन, आकस्मिक खाद्य सहायता तथा बाँचेका पशुधनको व्यवस्थापनमा समेत सहयोग गरिने राष्ट्रसङ्घले जनाएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका धेरै बस्ती प्रभावित भएका छन्। बाढी तथा पहिरोले सडक, विद्युत्, खानेपानी र सरसफाइका संरचनामा ठूलो क्षति पुर्‍याउँदा दुर्गम क्षेत्रका नागरिक आधारभूत सेवाबाट समेत प्रभावित भएका छन्।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले सरकारको नेतृत्वमा हिउँद सुरु हुनुअघि सबैभन्दा दुर्गम प्रभावित बस्तीमा आश्रय, उपचार, स्वच्छ पानी र नगद सहयोग पुर्‍याउनु अपिलको मुख्य प्राथमिकता रहेको बताएकी छन्।

प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार ०७:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको