महाधिवेशन प्रक्रिया नरोके कांग्रेस विभाजन हुन सक्छ : रमेश लेखक



कञ्चनपुर, भदौ २१ । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको विवाद समाधान नगरी महाधिवेशन प्रक्रिया अघि बढाए कांग्रेस विभाजन हुन सक्ने चेतावनी दिएका छन्।

कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए। उनका अनुसार पार्टीभित्र देखिएको वर्तमान समस्या समाधानका लागि सबै पक्षबीच समझदारी आवश्यक छ।

लेखकले विशेष महाधिवेशनबाट १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई हटाइएपछि अहिलेको विवाद उत्पन्न भएको दाबी गरे। उनले विशेष महाधिवेशनबाट बनेको संरचना र १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई समेटेर विवाद समाधान गर्नुपर्ने धारणा राखे।

उनका अनुसार आफूहरूको माग सभापति गगन थापालाई हटाउने नभई १४औँ महाधिवेशनबाट निर्वाचित भएर विशेष महाधिवेशनमा समेटिन नसकेका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समावेश गर्ने हो।

त्यसरी सदस्य थप्दा सभापति थापा अल्पमतमा पर्ने अवस्था आए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सकिने विकल्पसमेत आफूहरूले प्रस्तुत गरेको लेखकले बताए।

निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत कायम गर्न सक्ने भए पनि अन्य समूहबाट पनि एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको उनले बताए।

‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने।

पार्टी एकता कायम गर्ने सम्भावना अझै समाप्त नभएको उल्लेख गर्दै उनले तत्काल महाधिवेशनको प्रक्रिया रोक्नुपर्नेमा जोड दिए। ‘अहिले पनि उपाय छ । आफ्नो–आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ । यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ उनले भने।

लेखकले पार्टीभित्रको विवादमा अदालतको निर्णयलाई समेत पर्खेर अघि बढ्नुपर्ने धारणा राखे। आधिकारिकतासम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेको भन्दै उनले अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आए पनि त्यसलाई मात्रै सम्पूर्ण विवादको समाधानका रूपमा लिन नहुने बताए।

पार्टी विभाजनको अवस्था सिर्जना भए त्यसको जिम्मेवारी महाधिवेशनको प्रक्रिया अघि बढाउने पक्षले लिनुपर्ने चेतावनीसमेत लेखकले दिएका छन्।

कांग्रेस सभापति गगन थापा नेतृत्वले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने मिति तय गरेको छ। तर संस्थापन इतर समूहले उक्त मिति स्वीकार गर्न नसकिने बताउँदै महाधिवेशन मंसिरमा गर्नुपर्ने प्रस्ताव अघि सार्दै आएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २१, आईतवार १६:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको