काठमाडौँ, भदौ २१। अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो। तीन खेलको शृङ्खलामा नेपालले यसअघि खेलेका दुवै खेलमा पराजय व्यहोरेको छ।
नेपाल आजको खेलमा न्युजिल्यान्ड ‘ए’लाई पराजित गर्दै अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। यसअघि नेपालले तास्मानियाविरुद्ध दुई विकेट र दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार बेहोरेको थियो।
तेस्रो खेलका लागि नेपालको प्लेइङ–११ मा एक परिवर्तन गरिएको छ। नारायण जोशीको स्थानमा विपिन खत्रीलाई टोलीमा समावेश गरिएको छ।
चोटका कारण नेपालको प्रमुख ब्याटर कुशल भुर्तेल भने न्युजिल्यान्ड ‘ए’ विरुद्धको खेलमा पनि प्लेइङ–११ मा छैनन्।
नेपालका लागि आजको खेल शृङ्खलामा सान्त्वना जित निकाल्नुका साथै अष्ट्रेलिया भ्रमणलाई सकारात्मक रूपमा टुंग्याउने अवसरका रूपमा रहेको छ।






