सरकारी गाडीसहित क्यासिनोमा भेटिए सखुवाप्रसौनीका अध्यक्ष यादव, प्रहरी नियन्त्रणमा



वीरगञ्ज, भदौ २१ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार राति जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरेको विशेष अभियानका क्रममा वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्टमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार अध्यक्ष यादव गाउँपालिकाको सरकारी सवारीसाधन प्रयोग गरेर क्यासिनो पुगेका थिए। क्यासिनो परिसरबाट गाउँपालिकाको ना१झ १६८७ नम्बरको सरकारी स्कर्पियोसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले यादवसहित आठ जना नियन्त्रणमा परेको पुष्टि गरेका छन्। सरकारी सवारीसाधन प्रयोग गरी जनप्रतिनिधि क्यासिनो पुगेको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ९डीएसपी० चक्रबहादुर मल्लले अध्यक्ष यादवसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको र उनीहरूलाई आइतबार सार्वजनिक गरिने जानकारी दिएका छन्।

पर्साका विभिन्न क्यासिनोमा नेपाली नागरिक प्रवेश गर्ने गरेको सूचना आए पनि यसअघि प्रहरी पुग्दा उनीहरू भाग्ने गरेको बताइएको थियो। पछिल्लो समय क्यासिनोमा नेपाली ग्राहकको गतिविधिमाथि प्रहरीले निगरानी बढाउँदै आएको छ।

क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा राजनीतिक र व्यावसायिक पहुँचको दुरुपयोग हुने गरेको आरोपका बीच प्रहरीले निगरानी तीव्र पारेको हो। यसपटक भने स्थानीय तहका प्रमुख नै क्यासिनो परिसरमा भेटिएपछि घटना थप चर्चामा आएको छ।

स्रोत ः नेपाल प्रेस

प्रकाशित मिति: २०८३ भाद्र २१, आईतवार ०८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको