काठमाडौं, भदौ २१ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले देश प्राकृतिक विपत्तिको चपेटामा रहेका बेला पार्टीले महाधिवेशनको आन्तरिक समीकरणभन्दा जनताको पीडालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
बाढी प्रभावित क्षेत्रको राहत वितरण तथा स्थलगत निरीक्षण गरेर काठमाडौं फर्किएका महरले कांग्रेसका सम्पर्क समितिका सभापतिहरूसँगको छलफलमा यस्तो धारणा राखेका हुन्।
उनले भोटेकोसीसहित देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको र वर्षाका कारण सडक तथा यातायातका मार्गसमेत अवरुद्ध रहेको अवस्थामा पार्टीको १५औँ महाधिवेशन केही समय पर सारेर भए पनि राष्ट्रिय संकटमा केन्द्रित हुनुपर्ने बताए।
महरले विपत्तिका कारण हजारौँ नागरिक प्रभावित भएको उल्लेख गर्दै यस्तो अवस्थामा कांग्रेसले आफ्नो राजनीतिक गतिविधिभन्दा उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
‘आज हजारौँ नेपाली नागरिक विपत्तिमा छन्। कतै घर बगेका छन्, कतै परिवारले आफन्त गुमाएका छन्, कतै गाउँ नै सडक सञ्जालबाट विच्छेद भएको छ,’ उनले भने, ‘यस्तो संवेदनशील अवस्थामा कांग्रेसको सम्पूर्ण ध्यान महाधिवेशनको जोड–घटाउमा होइन, पीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ।’
उनले प्राकृतिक विपत्तिको समयमा राजनीतिक दलहरूको वास्तविक परीक्षा हुने भन्दै कांग्रेसले संकटमा परेका नागरिकको साथमा उभिनुपर्ने बताए।
महरले महाधिवेशन अनिश्चितकालका लागि स्थगित गर्नुपर्ने धारणा आफूले नराखेको स्पष्ट पार्दै केही समयका लागि मिति परिवर्तन गर्न सकिने प्रस्ताव अघि सारेका छन्।
उनका अनुसार दशैँपछि महाधिवेशन सम्पन्न हुने गरी कार्यतालिका केही समय पछाडि सार्दा पार्टीभित्र समग्र एकता निर्माण गर्न पनि सहज हुने र विपत्तिमा परेका नागरिकका पक्षमा पार्टीले प्रभावकारी रूपमा काम गर्न सक्नेछ।






