एजेन्सी, भदौ २२। अमेरिकाको फ्लोरिडास्थित मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् भने अन्य दुई जनालाई सामान्य चोट लागेको अधिकारीहरूले बताएका छन्।
बोइङ ७६७–३०० विमान पोर्टो रिकोको सान जुआनबाट मियामीका लागि उडेको थियो। स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे विमान विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेभन्दा अगाडि पुगेपछि सडकमा रहेका केही सवारीसाधनसँग ठोक्किएको थियो।
दुर्घटनापछि विमानमा आगलागी भएको थियो। घटनास्थलबाट धुवाँको बाक्लो मुस्लो निस्किएको तथा विमानका केही भागमा आगो लागेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा देखिएको छ।
मियामी–डेड काउन्टीका अधिकारीहरूका अनुसार दुर्घटनापछि केही मानिस सवारीसाधनभित्रै फसेका थिए। विमानका पाइलट र सहपाइलटसमेत विमानभित्र फसेको उद्धार अधिकारीहरूले बताएका छन्।
मियामी–डेड रेस्क्युका फायर चिफ रे जदाल्लाहका अनुसार दुर्घटनास्थलमा उद्धार तथा सुरक्षा टोलीले लामो समयसम्म काम गरेका थिए। विमानबाट इन्धन चुहावट रोक्न अग्निनियन्त्रकहरूले प्रयास जारी राखेका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भएका अन्य भिडियोमा विमान रनवेभन्दा अगाडिको जमिनमा रोकिएको देखिन्छ। प्रारम्भिक दृश्यका आधारमा विमान अवतरणका क्रममा रनवेबाट बाहिर गएको हुनसक्ने देखिए पनि दुर्घटनाको वास्तविक कारण भने अहिलेसम्म स्पष्ट भइसकेको छैन।
दुर्घटनाबारे सम्बन्धित निकायले अनुसन्धान सुरु गरेका छन्। अनुसन्धानपछि विमान दुर्घटनाको कारण तथा घटनाको विस्तृत विवरण खुल्ने अपेक्षा गरिएको छ।






