बाढीको जोखिममा गोबरगाढा, पालबाट बनाइयो अस्थायी घर



सप्तरी, भदौ २२ । कोसी नदीका विभिन्न भंगालाले घेरिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्तीमा बाढीको जोखिम बढेको छ। कोसी नदीमा पानीको बहाव बढेसँगै बस्तीका घरआँगनसम्म पानी पस्न थालेपछि स्थानीय त्रसित भएका छन्।

हरेक वर्ष वर्षायाममा बाढीको जोखिम सामना गर्दै आएको गोबरगाढामा यसपटक पनि नदीको पानी बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयको सुरक्षा चुनौतीपूर्ण बनेको हो।

जोखिम बढेपछि हनुमाननगर कंकालिनी नगरपालिकाले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको थियो। नगरपालिकाले बस्तीबाहिर सुरक्षित स्थानमा स्थानान्तरण गरी खाने र बस्ने व्यवस्था मिलाउने प्रस्ताव गरे पनि पुस्तौँदेखि बस्दै आएको थलो छाड्न स्थानीय तयार भएनन्।

स्थानीयले बस्ती छाड्न नमानेपछि तत्कालका लागि गोबरगाढामै सुरक्षित व्यवस्थापन गर्ने निर्णय गरिएको नगरप्रमुख वीरेन्द्र माझीले बताउनुभयो।

नगरपालिकाले बस्तीभित्रकै तुलनात्मक रूपमा अग्लो स्थानमा अस्थायी आश्रयस्थल निर्माण थालेको छ। आइतबार मात्रै पालको प्रयोग गरी आठ वटा अस्थायी घर निर्माण गरिएको नगरप्रमुख माझीले जानकारी दिनुभयो। जोखिम थप बढे आवश्यकताअनुसार थप अस्थायी घर निर्माण गरिने उहाँले बताउनुभयो।

नगरपालिकाका अनुसार पालबाट निर्माण गरिएका अस्थायी घर तत्कालको संकट व्यवस्थापनका लागि मात्रै हुन्। यसले गोबरगाढाको बाढी समस्या दीर्घकालीन रूपमा समाधान गर्न नसक्ने नगरप्रमुख माझीको भनाइ छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले खाद्यान्न, खानेपानीलगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ। बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त व्यक्तिको अवस्थाबारे विशेष निगरानी राख्न स्थानीयलाई आग्रह गरिएको छ।

नदीको बहाव अझ बढेर अवस्था गम्भीर बने तत्काल सुरक्षित स्थानमा जानुपर्ने अवस्था आउन सक्ने भएकाले उद्धार टोली तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न नगरप्रमुख माझीले स्थानीयलाई आग्रह गर्नुभएको छ।

गोबरगाढामा बाढीको समस्या नयाँ भने होइन। चारैतिर कोसीका भंगालाले घेरिएको बस्तीमा हरेक वर्ष वर्षायामसँगै बाढीको जोखिम बढ्ने गरेको छ।

नगरप्रमुख माझीका अनुसार अहिले निर्माण गरिएका अस्थायी घरले तत्कालीन समस्या मात्रै समाधान गर्ने भएकाले गोबरगाढाको स्थायी समाधानका लागि सुरक्षित स्थानमा बस्ती स्थानान्तरण आवश्यक छ।

स्थानीय नागरिकको चाहना र सहमतिका आधारमा तीनै तहका सरकारसँग समन्वय गरी नदीभन्दा बाहिर सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण तथा स्थानान्तरणका लागि नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

“विपत्तिको यस कठिन अवस्थामा गोबरगाढावासीलाई नआत्तिन आग्रह गर्दछु,” नगरप्रमुख माझीले भन्नुभयो, “नगरपालिकाले नागरिकको जीवन र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आवश्यक सबै सहयोग र व्यवस्थापन गर्नेछ।”

प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार ०९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको