नारायणगढ-मुग्लिन सडक आजदेखि आंशिक बन्द



काठमाडौं, भदौ २२ । नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानदेखि निश्चित समयका लागि आंशिक रूपमा बन्द गरिने भएको छ। तुइन खोलामा पहिरो रोकथाम तथा जोखिम न्यूनीकरणका लागि माटो कटानको काम गर्न सडकमा सवारी आवागमन रोकिने भएको हो।

चितवन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै धादिङको कृष्णभिरमा सडक मर्मतको काम भइरहेको समयको सदुपयोग गरी तुइन खोला क्षेत्रमा आवश्यक माटो कटान तथा पहिरो रोकथामको काम गरिने जनाएको छ।

प्रशासनका अनुसार तुइन खोलामा पटक–पटक खस्ने पहिरोको माथिल्लो भागमा रहेका झर्न सक्ने माटो तथा ढुंगा पन्छाउन सवारी आवागमन रोकेर काम गर्न लागिएको हो।

कृष्णभिरमा भइरहेको सडक मर्मत सम्पन्न भई नियमित रूपमा सवारी आवागमन सञ्चालनमा नआएसम्म तुइन खोला क्षेत्रमा उक्त काम जारी रहने प्रशासनले जनाएको छ।

कामका क्रममा नारायणगढ–मुग्लिन सडकखण्ड विभिन्न समयमा बन्द गरिनेछ। प्रशासनका अनुसार बिहान ८ बजेदेखि ८ः३० बजेसम्म, १०ः३० देखि ११ बजेसम्म, दिउँसो १ बजेदेखि १ः३० बजेसम्म र ३ः५० देखि ४ बजेसम्म सडक बन्द रहनेछ।

त्यसैगरी, साँझ ६ बजेपछि पनि उक्त सडकखण्डमा सवारी आवागमन सञ्चालन गरिने समयबाहेक कामका लागि सवारी रोकिने प्रशासनले जनाएको छ।

तोकिएको समयबाहेक अन्य समयमा भने सडकमा सवारी आवागमन सञ्चालन गरिनेछ। प्रशासनले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था र तोकिएको समयअनुसार यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार ०७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको