ब्रेक थ्रु’ नभएसम्म जलविद्युत् आयोजनाका टनेलमा खोजी जारी रहने



काठमाडौं, भदौ २२। नेपाली सेनाले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा ‘ब्रेक थ्रु’ नभएसम्म खोज तथा उद्धार कार्य जारी राख्ने जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवाशजङ्ग थापाले सरकारले खोजी कार्य रोक्न निर्देशन नदिएसम्म सुरुङभित्र निरन्तर खोजी गरिने जानकारी दिए ।

उनका अनुसार बाढी प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा करिब १२१ जना मानिस फसेको हुनसक्ने अनुमान गरिएको छ । खोज तथा उद्धार टोलीले ती क्षेत्रमा तीव्र रूपमा काम गरिरहेको उनले बताए ।

रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोलीले पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरिरहेको सहायक रथी थापाले जानकारी दिए ।

नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई हवाई, जमिन र सुरुङ गरी तीन क्षेत्रमा विभाजन गरेर सञ्चालन गरिरहेको जनाएको छ ।

सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले सरकारको निर्देशनअनुसार विपद्सँग सम्बन्धित सबै निकायसँग समन्वय र सहकार्य गरी उद्धार कार्य भइरहेको बताए ।

उनका अनुसार विदेशबाट नेपाल आएका उद्धारकर्मीसँग समेत सहकार्य गरी खोज तथा उद्धारलाई अघि बढाइएको छ । विपद्का क्रममा नेपाली सेनाका ४५ जना सैनिकसमेत बेपत्ता रहेको उनले जानकारी दिए ।

यसैबीच, प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको बताएका छन् । अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिइएकाले हेलिकप्टरमार्फत राहत पुर्‍याउनुपर्ने केही स्थानमा समस्या भएको उनले बताए ।

हेलिकप्टर पुग्न नसक्ने क्षेत्रमा त्रिशूली, रसुवालगायत नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उप्रेतीले जानकारी दिए । स्थानीय तहसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम भइरहेको उनको भनाइ छ ।

विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर जारी रहेको बताउँदै उनले छिमेकी मुलुकसँग समेत समन्वय गरी खोज, उद्धार र राहतका लागि आवश्यक सहयोग लिइरहेको जानकारी दिए ।

उनका अनुसार विपद् प्रभावित क्षेत्रमा राज्यका सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरिएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार १६:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको