भक्तपुर, भदौ २३ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले मंगलबारदेखि सञ्चालन हुने डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण परीक्षा स्थगित गरेको छ।
परिषद्ले सोमबार अत्यन्त जरुरी सूचना जारी गर्दै विशेष परिस्थितिका कारण भदौ २३ गतेदेखि सञ्चालन हुने भनिएका सबै परीक्षा स्थगित गरिएको जनाएको हो।
यसअघि २०८३ साउन १५ गते प्रकाशित परीक्षा तालिकाअनुसार डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक तथा सेमेस्टर प्रणालीअन्तर्गतका नियमित र आंशिक परीक्षा मंगलबार बिहान ७ बजेदेखि देशभर एकैसाथ सञ्चालन गर्ने तयारी गरिएको थियो।
त्यसका लागि भदौ १६ गते परीक्षा केन्द्रसमेत तोकिएको थियो। तर, विशेष परिस्थितिका कारण निर्धारित परीक्षा स्थगित गरिएको परिषद्ले जनाएको छ।
स्थगित परीक्षाको नयाँ तालिका तथा परीक्षा केन्द्रसम्बन्धी सूचना पछि पुनः सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
परीक्षासम्बन्धी थप जानकारी तथा अद्यावधिक सूचनाका लागि सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ।






