सुशासनबिना दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थायित्व कायम गर्न सक्दैन : सुशिला कार्की



काठमाडौं, भदौ २३ । जेनजी विद्रोह पछि मुलुकको शासन सत्ता सम्हालेकी पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासनबिना संसद्को दुई तिहाइ बहुमतले समेत राजनीतिक स्थायित्व कायम गर्न नसक्ने बताएकी छन्।

जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै कार्कीले आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई महत्वपूर्ण सन्देश दिएको उल्लेख गरेकी हुन्।

उनका अनुसार राजनीतिक स्थायित्व संसदीय अंकगणितमा मात्र निर्भर हुँदैन, शासकको चरित्र र कार्यशैलीले त्यसलाई निर्धारण गर्छ। त्यसैले सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन, जवाफदेहिता तथा नागरिकको सम्मान सुनिश्चित गर्न प्रभावकारी रूपमा काम गर्नुपर्ने उनले बताएकी छन्।

कार्कीले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र त्यसबाट सिर्जित पीडालाई स्मरण गर्दै त्यस्ता घटना पुनः दोहोरिन नदिन राज्यसहित सबै राजनीतिक पक्ष जिम्मेवार र सचेत हुनुपर्नेमा जोड दिएकी छन्।

उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

सुशासन, पारदर्शिता, जवाफदेहिता र उज्ज्वल भविष्यको माग गर्दै युवाहरूले सडक तथा डिजिटल माध्यमबाट आवाज उठाउँदा उक्त आवाज दबाउने क्रममा निर्दोष युवाहरूको ज्यान गएको र धेरै युवा गम्भीर रूपमा घाइते भएको कार्कीले उल्लेख गरेकी छन्।

आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको तथा राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरसमेत गुमेको उल्लेख गर्दै उनले त्यसबाट राष्ट्रमा परेको चोट लामो समयसम्म रहने बताएकी छन्।

अब सुशासन र परिवर्तनका लागि जनता पुनः सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र सचेत भएर भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

जेनजी आन्दोलनको एक वर्ष नपुग्दै मुलुक भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै कार्कीले विपद्को यस कठिन घडीमा धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्न सबैमा आग्रह गरेकी छन्।

उनले विपद्मा परेकालाई एकअर्काको सहारा बन्दै दुःखमा साथ दिन र ऐक्यबद्ध भएर विपद्को सामना गर्न आह्वानसमेत गरेकी छन्।

प्रकाशित मिति: २०८३ भाद्र २३, मंगलवार ०७:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको