रास्वपा सरकारमा आएपनि सुशासन कायम हुन सकेन : उपेन्द्र यादव



बुटवल, भदौ २३ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा झण्डै दुई तिहाईको सरकार आएपनि मुलुकमा सुशासन कायम हुन नसकेको आरोप लगाएका छन्।

सोमबार भैरहवामा आयोजित जसपा नेपालका कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले रास्वपा सरकारमा आएपछि भ्रष्टाचार र कमिसनतन्त्रको शैली मात्र परिवर्तन भएको टिप्पणी गरे।

उनले निर्वाचनका बेला विकास र सुशासनलाई नयाँ नाराका रूपमा अघि सारिए पनि व्यवहारमा त्यसअनुसार काम हुन नसकेको बताए।

‘निर्वाचनमा विकास र सुशासन नयाँ नारा होइन। तर, नयाँ शैलीमा नारा बनाइयो र रास्वपाले बहुमत पायो,’ यादवले भने, ‘तर बहुमत पाएपछि विकास र सुशासन हरायो।’

जनताले अहिले पनि सुशासनको अनुभूति गर्न नपाएको दाबी गर्दै यादवले देश आर्थिक संकटतर्फ उन्मुख भएको बताए।

उनका अनुसार गरिब तथा विपन्न नागरिकमाथि करको भार थपिएको छ भने कृषि, उद्योग र पर्यटन क्षेत्रसमेत कमजोर बन्दै गएका छन्। देश आर्थिक मन्दीको जोखिममा रहेको उनको भनाइ छ।

यसैबीच, विगतमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको पछि लागेर सत्ताको खेलमा सहभागी हुनु आफ्नो पार्टीको ठूलो गल्ती भएको यादवले स्वीकार गरे। त्यसको आत्मसमीक्षा गर्दै प्रदेश सांसदसहित २१ जनामाथि कारबाही गरिएको उनले जानकारी दिए।

यादवले पार्टीले विगतका कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा आफ्नो राजनीतिक भूमिका र कार्यदिशालाई थप स्पष्ट बनाउने बताए।

कार्यक्रममा यादवले जलवायु परिवर्तनको विषयसमेत उठाए। विकसित तथा शक्तिशाली राष्ट्रहरूले गर्ने वातावरणीय प्रदूषणका कारण नेपाल जलवायु संकटको उच्च जोखिममा परेको उनको भनाइ थियो।

विकसित मुलुकबाट उत्सर्जन हुने कार्बनडाइअक्साइड तथा अन्य हरितगृह ग्यासका कारण हिमनदी पग्लिने क्रम तीव्र भएको र यसले नेपालको वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको यादवले बताए।

प्रकाशित मिति: २०८३ भाद्र २३, मंगलवार ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको