नेपाललाई १५ रनले हराउँदै हङकङ सेमिफाइनलमा, मलेसिया बाहिरियो



जनकपुरधाम, भदौ २३। मलेसियामा जारी एसिसी मेन्स प्रिमियर कपमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। नेपाललाई पराजित गर्दै हङकङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ भने आयोजक मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ।

हङकङले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९।१ ओभरमा २ सय ४६ रनमै अलआउट भयो। नेपालका लागि इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

पाण्डेले १ सय ६ बलमा ६ चौका र २ छक्काको मद्दतमा ९० रन जोडे। यस्तै आसिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ र गुल्सन झाले २० रन बनाए।

हङकङका अजिजाज खानले नेपालका चार विकेट लिए। यसिम मुर्ताजाले दुई तथा अतिकुल इकबाल र नसरुल्लाह खानले एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो। उसका लागि बाबर हायतले शतकीय पारी खेल्दै १ सय १७ रन बनाए।

हायतले १ सय २६ बलमा ७ चौका र ७ छक्कासहित १ सय १७ रनको योगदान दिए। साहिद वासिफले ४५, एहसान खानले ३५, जेसन अलीले १५ तथा अंशुमान राथले १३ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने शेर मल्लले तीन विकेट हात पारे।

नेपालले प्रतियोगिताको सुरुवाती खेलमा बहराइनलाई ७ विकेट, आयोजक मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। नेपाल यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको थियो।

समूह ‘ए’मा नेपाल, हङकङ, मलेसिया, साउदी अरेबिया र बहराइन रहेका छन्। हङकङको जितसँगै आयोजक मलेसियाको प्रतियोगिताबाट बाहिरिने टुंगो लागेको हो।

प्रकाशित मिति: २०८३ भाद्र २३, मंगलवार १५:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको