काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि पूर्वसभापति शेरबहादुर देउवासँग संवादको प्रयास गरे पनि भेटवार्ता हुन नसकेको जानकारी केन्द्रीय समिति बैठकमा गराएका छन्।
दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा थापाले देउवाको सचिवालयमार्फत आफूले चार पटक भेटका लागि समय मागेको, तर समय उपलब्ध नभएको बताएका हुन्।
बैठकमा थापाले पार्टीभित्रको विवाद समाधानका लागि संवाद आवश्यक भए पनि देउवातर्फबाट त्यसका लागि सकारात्मक पहल हुन नसकेको बताएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार थापाले देउवासँग भेटका लागि पटक–पटक प्रयास गर्दा पनि समय नपाएको बताएका हुन्।
थापाले देउवाको सचिवालयसँगै उनीनिकट नेताहरू पनि संवादमा आउन इच्छुक नदेखिएको बैठकलाई जानकारी गराएको ती नेताले बताए।
यसैबीच, सभापति थापाले कांग्रेस नेता पूर्णबहादुर खड्का र डा। शेखर कोइरालासँगको संवाद भने सकारात्मक रहेको बताएका छन्।
थापाका अनुसार खड्का र कोइरालासँग भएको वार्ताका क्रममा उठेका विषयलाई सम्बोधन गर्नेगरी पार्टीले केही निर्णयसमेत गरेको छ।
विशेषगरी क्रियाशील सदस्यता अद्यावधिक हुन नसकेका सदस्यहरूलाई समेत आगामी महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गर्ने निर्णय उनीहरूसँगको संवादकै परिणाम भएको बैठकमा बताइएको थियो।
कांग्रेसभित्र नेतृत्व, महाधिवेशन तथा पार्टीको आन्तरिक व्यवस्थापनलगायत विषयमा विवाद देखिँदै आएको छ। सभापति थापाले विभिन्न पक्षसँग संवादमार्फत विवाद समाधानको प्रयास गरिरहेको बताइएको छ।




