आज जेनजी शहीद दिवस, देशभर सार्वजनिक बिदा



काठमाडौं, भदौ २३ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

सरकारले १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन्।

जेनजी आन्दोलन सुरु भएको आज एक वर्ष पूरा भएको छ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन क्रमशः सरकार सञ्चालनको शैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा तथा अवसरमा देखिएको असमानताविरुद्धको व्यापक आन्दोलनमा परिणत भएको थियो।

गत वर्ष भदौ २३ गते संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो। उक्त घटनाको विरोधमा भदौ २४ गते पनि काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन चर्किएको थियो।

दुई दिनसम्म चलेको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाको मृत्यु भएको बताइएको छ। आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजी भौतिक संरचनामा समेत आगजनी तथा तोडफोडका घटना भएका थिए।

सरकारले आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मान र योगदानको स्मरण गर्दै भदौ २३ गतेलाई शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको हो। आज विभिन्न स्थानमा जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा श्रद्धाञ्जली तथा स्मृतिसम्बन्धी कार्यक्रमसमेत आयोजना हुँदैछन्।

प्रकाशित मिति: २०८३ भाद्र २३, मंगलवार ०७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको