जनतासँगको सम्बन्ध कमजोर हुँदा एमाले कमजोर : प्रदीप ज्ञवाली



जनकपुरधाम, भदौ २३ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको जनतासँगको सम्बन्ध कमजोर हुँदा एमाले कमजोर अवस्थामा पुगेको बताएका छन्।

एमाले मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन जागरण’ अभियानअन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपमहासचिव ज्ञवालीले पार्टीको कार्यशैली जनपरिचालनभन्दा सरकारी कामकारबाहीमा केन्द्रित हुँदा जनतासँग दूरी बढेको बताए।

उनका अनुसार एमालेका नेता–कार्यकर्ताको ध्यान जनताका समस्या र जनपरिचालनमा भन्दा कर्मचारी तथा प्रशासनिक अधिकारीको सरुवामा केन्द्रित हुन थालेको थियो।

‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी र राजसी भयो,’ ज्ञवालीले भने, ‘हाम्रो ध्यान सिडिओ, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो। यसले पार्टीका नेतालाई जनतासँग टाढा पुर्‍यायो। अब यसलाई सुधार गर्नुपर्छ।’

ज्ञवालीले आगामी राजनीतिक यात्राका लागि पार्टीले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्नेमा जोड दिए। उनले फागुनमा भएको निर्वाचनमा एमालेले अपेक्षित परिणाम हासिल गर्न नसक्नुमा पार्टीभित्रको आन्तरिक एकतामा आएको समस्या पनि प्रमुख कारण रहेको बताए।

पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, पार्टीभित्र समूह तथा उपसमूह निर्माण र निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न नसक्दा एमाले कमजोर बनेको उनको भनाइ थियो।

‘गत वर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो, तर यस वर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ,’ ज्ञवालीले भने, ‘यो अवस्था पार्टी जनताका मुद्दाबाट टाढिँदै गएको परिणाम हो।’

उनले संविधानमाथि प्रश्न उठ्दा वा पार्टीका नेतामाथि सरकारले ज्यादती गर्दा समेत जनता सडकमा नआउनुको एउटा कारण एमालेको जनतासँगको सम्बन्ध कमजोर हुनु रहेको दाबी गरे।

ज्ञवालीले २०७९ को निर्वाचनपछि एमालेप्रति जनतामा ‘सत्ताभोगी पार्टी’को धारणा बनेको बताए। २०७९ देखि २०८२ सम्म एमालेले चार पटक सत्ता समीकरण परिवर्तन गरेको उल्लेख गर्दै उनले सरकारमा जाने वा बाहिरिने निर्णयको स्पष्ट कारण जनतालाई बुझाउन नसकिएको बताए।

उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँगको सहकार्य र त्यसपछि कांग्रेससँग गरिएको सत्ता सहकार्यले पार्टीप्रति जनतामा नकारात्मक सन्देश गएको बताए।

एमालेले अब जनताका समस्या पहिचान गर्ने, तिनलाई राजनीतिक रूपमा उठाउने र समाधानका लागि प्रभावकारी पहल गर्नुपर्ने ज्ञवालीको भनाइ छ।

मधेस प्रदेश कमिटीको आयोजनामा एमालेको भेला महोत्तरीको लालगढमा जारी छ।

प्रकाशित मिति: २०८३ भाद्र २३, मंगलवार १६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको