जेनजीले देखाएको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौं : रवि लामिछाने



काठमाडौं, भदौ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने  एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरणको विस्फोटका रूपमा व्याख्या गरेका छन्।

जेनजी शहीद दिवसका अवसरमा मंगलबार वक्तव्य जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताबाट उत्पन्न निराशाविरुद्ध युवाहरू सडकमा उत्रिएको स्मरण गरेका हुन्।

उनले भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाएका जेनजी आन्दोलनका शहीद तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

लामिछानेले परिवर्तन, नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउने क्रममा युवाहरूले ज्यान गुमाउनु अत्यन्त पीडादायी भएको बताएका छन्।

उनका अनुसार आन्दोलनले राजनीतिप्रति चासो नराख्ने भनिएको पुस्तालाई समेत सडकमा ल्याएर परम्परागत राजनीतिक शैलीप्रति प्रश्न उठाएको थियो। युवाहरूले सडकबाट उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले रास्वपालगायत राजनीतिक नेतृत्वमाथि आएको उनको भनाइ छ।

लामिछानेले नागरिक समाज, युवा तथा आम नागरिकलाई सरकार र राजनीतिक नेतृत्वको निरन्तर खबरदारी तथा कार्यसम्पादनको समीक्षा गर्न आग्रह गरेका छन्। तर, नागरिकमा निराशाको भावना स्थापित हुन नदिनसमेत उनले अपिल गरेका छन्।

‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ,’ लामिछानेले भनेका छन्, ‘हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ।’

उनले नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

लामिछानेले जेनजी आन्दोलनले देखाएको मार्गबाट आफूहरू विचलित नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानलाई आधार बनाएर अघि बढ्ने उनको भनाइ छ।

‘जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ,’ उनले वक्तव्यमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: २०८३ भाद्र २३, मंगलवार १३:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको