काठमाडौं, भदौ २४ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। दुवै सदनका बैठकमा विभिन्न विधेयक तथा प्रस्तावमाथि छलफल र प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्नेछिन्।
प्रतिनिधिसभाको बैठकमा एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
उता, राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गरिनेछ।
विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा बैठकलाई जानकारी गराउनेछन्।
यसैबीच, आज संघीय संसद्अन्तर्गत अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बस्ने कार्यक्रम रहेको छ।






