ओम प्रकाश यादव
रौतहट, भदौ २७ । थुनुवालाई छुटाइदिने भन्दै प्रहरीको नाममा रकम असुली गरेको आरोपमा रौतहट प्रहरीले गरुडा नगरपालिका–९ श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैनलाई पक्राउ गरी ठगीसम्बन्धी मुद्दा चलाएको छ।
प्रहरीको नाममा रकम असुली गरि प्रहरी संगठनको नाम बदनाम गराउने हुस्नैनलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलिले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका रामजन मियाँलाई छुटाइदिने भन्दै हुस्नैनले उनकी श्रीमतीसँग एक लाख रुपैयाँ लिएका थिए।
पक्राउ परेका हुस्नैन गरुडा नगरपालिका–९ का तत्कालीन एकीकृत समाजवादी पार्टी र हाल नेकपाका वडाध्यक्ष पदका प्रत्याशी रहेको बताइएको छ।
प्रहरीसँग कुरा गरेर मुद्दा दर्ता हुन नदिने तथा थुनुवालाई छुटाइदिने आश्वासन दिँदै रकम असुली गरेको आरोपमा पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकरप्रसाद आचार्यले प्रहरीको नाम र पदको दुरुपयोग गरी रकम असुली गरेको आरोपमा हुस्नैनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको बताए।
“प्रहरीको नाममा रकम असुली गर्ने कार्य गम्भीर विषय हो। पीडितको जाहेरीका आधारमा पक्राउ गरी जिल्ला अदालत गौरबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ,” डीएसपी आचार्यले भने।
उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिमाथि समेत अनुसन्धान भइरहेको छ। प्रहरीको नाममा रकम असुली गरिएको पुष्टि भएमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही हुने प्रहरीले जनाएको छ।
केही दिनअघि गरुडा नगरपालिका–९ श्रीपुरमा अकबर मियाँ र उनका छोरा मेराज मियाँबीच झगडा भई कुटाकुट भएको थियो। बुबा–छोराबीच कुटपिट भइरहेको खबर पाएपछि शान्ति सुरक्षाका लागि प्रहरी चौकी बिर्ताबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थलमा पुगेका प्रहरीको अकबर मियाँका भाइ रामजन मियाँले बर्दी च्यात्दै उल्टै प्रहरीलाई नै दुर्व्यवहार गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाले रामजन मियाँलाई पक्राउ गरी उनीविरुद्ध मुद्दासमेत चलाएको थियो।
रामजन पक्राउ परेपछि वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैनले आफूले प्रहरीसँग कुरा गरेर उनलाई छुटाइदिने भन्दै उनकी श्रीमतीसँग रकम लिएको आरोप लागेको हो।
मियाँमाथि मुद्दा दर्ता हुन नदिने तथा प्रहरीसँग कुरा गरेर उनलाई छुटाइदिने आश्वासन दिँदै हुस्नैनले रकम लिएको बताइएको छ। त्यसपछि आफू ठगीमा परेको भन्दै रामजन मियाँकी श्रीमतीले प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ।
यसै घटनामा गरुडा नगरपालिका–९ का वर्तमान वडाध्यक्ष राजेश सहनीमाथि पनि थुनुवालाई छुटाइदिने भन्दै रकम असुली गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार सहनीविरुद्ध समेत पीडितले जाहेरी दिएकी छन्। डीएसपी आचार्यले सहनीमाथि लागेको आरोपबारे अनुसन्धान भइरहेको र दोषी देखिए उनिमाथी पनि कार्यवाही हुने बताए।
यद्यपि वडाध्यक्ष सहनीले भने आफूले रामजन मियाँलाई छुटाउन कसैसँग पनि पैसा नलिएको बताएका छन्। उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गरेका छन्।
थुनुवालाई छुटाइदिने, मुद्दा मिलाइदिने वा प्रहरीसँग कुरा गरेर कारबाही रोकाइदिने भन्दै प्रहरीको नाममा रकम असुली गर्ने प्रवृत्तिले प्रहरी संगठनको विश्वसनीयतामाथि प्रश्न उठाउने भएकाले यस्तो कार्यप्रति प्रहरी गम्भीर रहेको जनाएको छ।
गरुडाका डीएसपी आचार्यले प्रहरीको नाम र पदको दुरुपयोग गर्दै रकम असुली गर्ने जोसुकै भए पनि अनुसन्धान गरी कानुनी दायरामा ल्याइने बताए।
हुस्नैन हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन्। उनीविरुद्ध दर्ता भएको ठगीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






