काठमाडौं, भदौ २८ । प्रधान सेनापति अशोकराज सिग्देल चीनको साताव्यापी औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन्।
चीनको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देलले सेप्टेम्बर १३ देखि १९ सम्म चीन भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ ‘बेइजिङ सियाङसान फोरम’ मा समेत सहभागिता जनाउने कार्यक्रम छ।
नेपाली सेनाका अनुसार भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको समग्र परराष्ट्र नीतिलाई सहयोग पुर्याउने विश्वास गरिएको छ।
चीन प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। त्यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए।
प्रधानसेनापति सिग्देलको अनुपस्थितिमा भ्रमण अवधिभर बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने नेपाली सेनाले जनाएको छ।






