काठमाडौं, भदौ ३० । नेपाली कांग्रेस भित्र देखिएको गुटगत विवाद चरमोत्कर्षमा पुगेको छ । संस्थापन पक्षले असोज १६ गते देखी काठमाण्डौमा महाधिवेशन गर्ने तयारी तीब्र रुपमा अघि बढाई रहेका बेला संस्थापन इतरपक्ष (देउवा समूह)ले छुट्टै महाधिवेशनको तयारी समेत थालेका छन ।
यसैबीच कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले अघि बढाउन लागेको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
मंगलबार अपिल जारी गर्दै देउवाले विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम टुंगो नलाग्दै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने बताएका हुन्।
उनले पार्टीभित्र देखिएको पछिल्लो विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै एकपक्षीय रूपमा अघि बढ्ने गतिविधिले नेपाली कांग्रेसलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
‘नेपाली कांग्रेसलाई कमजोर गर्ने कार्य हुँदा म मुकदर्शक भएर बस्न सक्ने छैन,’ देउवाले अपिलमा भनेका छन्।
विशेष महाधिवेशन पक्षधरले पार्टीका अनुभवी नेतृत्व तथा बहुसंख्यक नेता–कार्यकर्तालाई बेवास्ता गर्दै अघि बढ्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो प्रवृत्तिले पार्टी निर्माणमा सहयोग नगर्ने बताएका छन्। उनले विशेष महाधिवेशन किन आवश्यक भयो भन्ने प्रश्नको जवाफसमेत आम नेता–कार्यकर्ता र जनताले अझै नपाएको उल्लेख गरेका छन्।
सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको अवस्थाले समेत विशेष महाधिवेशनको वैधतासम्बन्धी विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको देउवाको दाबी छ।
आफूलाई कुनै पद वा जिम्मेवारीको व्यक्तिगत लोभ नरहेको स्पष्ट पार्दै उनले पार्टी र राज्यले आफ्नो अनुभवको आवश्यकता महसुस गरे जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएका छन्।
देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् निर्वाचित १४औँ महाधिवेशनको सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको देउवाले उल्लेख गरेका छन्।
उनले पार्टीभित्रको विवाद सहमति र सहकार्यका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै एकपक्षीय रूपमा महाधिवेशन अघि बढाइए त्यसको प्रतिवाद गर्ने संकेत गरेका छन्।








