जनकपुरधाम, भदौ ३० । औरही गाउँपालिका–१ स्थित झिटकहिया गाउँमा बढ्दो फोहोर व्यवस्थापनको समस्याप्रति ध्यानाकर्षण गराउन स्थानीय युवाहरूले वडा कार्यालय परिसरमा फोहोर थुपारेर विरोध जनाएका छन्।
झिटकहिया युवा संगठनको अगुवाइमा युवाहरूले गाउँका विभिन्न स्थानमा लामो समयदेखि थुप्रिएको फोहोर ट्र्याक्टरमा संकलन गरी वडा कार्यालय परिसरमा पुर्याएका हुन्।
युवाहरूका अनुसार गाउँको फोहोर व्यवस्थापनबारे छलफल गर्न वडा अध्यक्षसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर वडा अध्यक्ष कार्यालयमा उपस्थित नभएपछि संकलित फोहोर वडा कार्यालयमै थुपारेर विरोध प्रदर्शन गरिएको हो।
स्थानीय युवाहरूले गाउँमा लामो समयदेखि फोहोर व्यवस्थापनको समस्या रहँदै आए पनि सम्बन्धित निकायले त्यसतर्फ पर्याप्त ध्यान नदिएको गुनासो गरेका छन्। उनीहरूले नियमित रूपमा फोहोर संकलन तथा उचित व्यवस्थापनको व्यवस्था गर्न वडा कार्यालय र गाउँपालिकासँग माग गरेका छन्।
फोहोरका कारण गाउँको सरसफाइमा असर पर्नुका साथै जनस्वास्थ्यमा समेत जोखिम बढ्न सक्ने भन्दै युवाहरूले समस्या तत्काल समाधान गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन्।
उनीहरूले गाउँको स्वच्छता कायम गर्न दीर्घकालीन फोहोर व्यवस्थापन योजना ल्याउनुपर्नेमा जोड दिएका छन्।




