कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी हुने



काठमाडौं , भदौ ३१। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् ।

असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि करिब ७ हजार प्रतिनिधि सहभागी हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्य राजु नेपालले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिको संख्या करिब ७ हजार रहने जानकारी दिनुभयो ।

कांग्रेसका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत केही जिल्लाबाहेक देशभर करिब ८ लाख ७० हजार क्रियाशील सदस्य रहेका छन् ।

महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन देशभर करिब ९ हजार निर्वाचन अधिकृत वडा तहसम्म खटाइएको निर्वाचन समितिले जनाएको छ । स्थानीय तहका पार्टी समितिसँग समन्वय गरेर निर्वाचन प्रक्रिया अघि बढाइएको छ ।

निर्वाचन समितिका सदस्यसचिव नेपालका अनुसार तीन जिल्लाबाहेक ७४ जिल्लामा निर्वाचन सामग्री र प्रक्रिया बुधबारदेखि नै सुरु भएको छ ।

यस महाधिवेशनमार्फत कांग्रेसले देशभर साढे ३ लाखभन्दा बढी निर्वाचित नेतृत्व चयन गर्नेछ । त्यसमध्ये वडा समितिमै मात्रै २ लाख ९६ हजार ६ सय ९२ जना निर्वाचित हुने अनुमान गरिएको छ ।

कांग्रेसले यसपटकको महाधिवेशनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने जनाएको छ । वडा तहदेखि नेतृत्व चयन तथा प्रतिनिधिको सहभागिता सुनिश्चित गर्दै महाधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार १७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको