जसपा नेपालले असोज ३ लाई ‘विरोध दिवस’का रूपमा मनाउने



जनकपुरधाम, भदौ ३१। जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसका दिन असोज ३ गतेलाई ‘विरोध दिवस’का रूपमा मनाउने भएको छ ।

जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार यादवले जारी गरेको पार्टी परिपत्रमार्फत असोज ३ गते देशभर ‘वर्तमान संविधानको मूलभूत विषयवस्तु तथा संविधान संशोधनको अपरिहार्यता’ विषयमा अन्तरक्रिया, बहस तथा विचारगोष्ठी आयोजना गर्न जिल्ला समितिहरूलाई निर्देशन दिइएको छ ।

पार्टीले नेपालको संविधान–२०७२ असोज ३ गते जारी भएको स्मरण गर्दै संविधानको मूलभूत विशेषता संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली रहेको जनाएको छ । नेपाली जनताले दशकौँदेखि गरेको संघर्षको परिणामस्वरूप गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता तथा समावेशिता प्राप्त भएको जसपा नेपालको भनाइ छ ।

परिपत्रमा नेपालको सार्वभौमसत्ता र राजनीतिक सत्ता नेपाली जनतामा निहित भए पनि अन्तरिम संविधानमा सहमति भएका कतिपय महत्वपूर्ण विषयलाई बहुमत र अल्पमतका आधारमा उल्ट्याइएको उल्लेख गरिएको छ । त्यसबाट संविधानको आधारभूत संरचनामा समेत विभेद कायम रहेको जसपा नेपालको दाबी छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई थप मजबुत बनाउन संविधान संशोधन तथा परिमार्जन अपरिहार्य रहेको भन्दै जसपा नेपालले यस विषयमा जनस्तरमा बहस र अन्तरक्रिया आवश्यक रहेको जनाएको छ ।

यसैअनुसार असोज ३ गते देशभरका जिल्ला समितिहरूले संविधानका मूलभूत विषयवस्तु, विद्यमान संवैधानिक व्यवस्था तथा संविधान संशोधनको आवश्यकताबारे कार्यक्रम आयोजना गर्ने पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधवार १७:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको