काठमाडौं , भदौ ३१। यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता पुनः खुला गरेको छ।
विभागले असोज १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधन को दर्ता खुला गरेको हो। दर्ताका क्रममा विद्युतीय सार्वजनिक यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिइने विभागले जनाएको छ।
विभागद्वारा जारी सूचनाअनुसार काठमाडौं उपत्यकाभित्र भने स्कुल बस र सट्टाभर्नाका लागि मात्रै सार्वजनिक सवारी साधन को दर्ता खुला गरिएको छ।
विभागका प्रवक्ता मणिराम भुसालका अनुसार काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई ध्यानमा राख्दै सट्टाभर्नाका लागि मात्र दर्ता खुला गरिएको हो।
यसअघि विभागले साउन १८ गतेदेखि मालवाहक सवारीसाधनको दर्ता खुला गरेको थियो। सार्वजनिक सवारी साधनको दर्ता भने जेठ ७ गतेदेखि देशभर रोक्का गरिएको थियो।
नयाँ व्यवस्थासँगै उपत्यकाबाहिर सार्वजनिक यातायातका लागि विशेषगरी विद्युतीय सवारी साधन को दर्ता प्रक्रियाले पुनः गति लिने भएको छ।






