केमिकल ट्याङ्करमा कार ठोक्किँदा तीन जना घाइते



सप्तरी, भदौ ३१। सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा रोकिराखेको केमिकल ट्याङ्करमा कार ठोक्किँदा तीन जना घाइते भएका छन् ।

बिग्रिएर सडक छेउमा रोकिराखेको डब्लुबी ११ एप १७९५ नम्बरको केमिकल ट्याङ्करमा काठमाडौँबाट झापातर्फ जाँदै गरेको बा।प्र। ०१–०३५ च ३३१७ नम्बरको कार बुधबार पछाडिबाट ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनामा कार चालक धादिङ पितले गाउँपालिका–३ का २१ वर्षीय मनोज श्रेष्ठ, सुनसरी इनरुवा नगरपालिका–३ का ३० वर्षीय ओशिम खान र झापा भद्रपुर नगरपालिका–७ का २८ वर्षीय पवन राई घाइते भएका छन् ।

श्रेष्ठको खुट्टामा सामान्य चोट लागेको छ । खानको निधार, मुख तथा बायाँ हातको पाखुरामा चोट लागेको छ भने राईको टाउको तथा बायाँ आँखामाथिको डिलमा चोट लागेको प्रहरीले जनाएको छ । खान र राईको अवस्था मध्यम रहेको छ ।

कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का २५ वर्षीय मोहन कविरथ भने सकुशल रहेका छन् ।

घाइते तीनै जनाको सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न कार र ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार १७:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको