चिलिमे सुरुङमा भेटिएका तीन शवमध्ये दुई निकालियो



रसुवा, भदौ ३१ । रसुवामा आएको बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका क्रममा तीनवटा शव फेला परेका छन्। तीमध्ये दुईवटा शव बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ।

विदेशी प्राविधिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले बुधबार सुरुङभित्र खोजी गर्ने क्रममा तीन शव फेला पारेको हो।

सेनाका अनुसार सुरुङसम्म पुग्न स्याफ्रूबेसीमा हेलिकप्टरमार्फत ल्याइएको एक्साभेटर र लोडर प्रयोग गरी चट्टान फुटाउँदै करिब १ हजार ५० मिटर बाटो निर्माण गरिएको थियो।

लेदो हटाउने क्रममा सुरुङको करिब ७० मिटरभित्रबाट पानी निस्किरहेको पत्ता लागेको थियो। पानी निस्किएको प्वालबाट उद्धार टोली प्रवेश गरी करिब १३० मिटरसम्म खोजी गरेको थियो। तर सुरुङभित्र पानीको सतह माथिल्लो भागसम्म पुगेपछि एक्साभेटर प्रयोग गर्न कठिन भएको थियो।

त्यसपछि गोताखोरसहितको टोलीले उक्त प्वालबाट सुरुङभित्र प्रवेश गरी अन्तिम भागसम्म खोजी गर्दा तीनवटा शव फेला पारेको सेनाले जनाएको छ।

फेला परेका शवमध्ये दुईवटा बाहिर निकालिसकिएको र बाँकी एउटा शव निकाल्ने कार्य जारी रहेको सेनाले जानकारी दिएको छ।

सेनाका अनुसार लेदो हटाउँदै सुरुङमा ‘ब्रेकथ्रु’ गरी उद्धार टोलीलाई सुरुङभित्र प्रवेश गराइएको थियो।

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार १६:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको