बारा, भदौ ३१ । वीरगञ्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलिप चौधरी रहेका छन्।
प्रहरीका अनुसार ना ३ ख ५६१० नम्बरको ग्यास बोकेको ट्रकले ना ४३ प ५१२२ नम्बरको मोटरसाइकललाई मंगलबार राति साढे ८ बजे ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याएपछि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




