वीरगञ्ज, असोज १। वीरगञ्ज महानगरपालिका–१५ वास्तुबिहार चोकमा बेवारिसे अवस्थामा रहेको भारतीय कारबाट चार थान पेस्तोल र ६ थान गोली बरामद भएको छ ।
बुधबार बेवारिसे अवस्थामा फेला परेको यूपी १६ एजे ३३०१ नम्बरको भारतीय कारबाट सशस्त्र प्रहरीले हतियार तथा गोली बरामद गरेको जनाइएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले कारमा खोजतलास गर्दा दुई थान कटुवा पेस्तोल, दुई थान सिक्सर पेस्तोल र ७.६२ एमएमका ६ थान गोली फेला पारेको जनाएको छ ।
कार बेवारिसे अवस्थामा रहेको र त्यसमा रहेका हतियार तथा गोली कसले राखेको भन्नेबारे तत्काल खुल्न सकेको छैन ।
बरामद भएका पेस्तोल, गोली तथा भारतीय नम्बर प्लेटको कारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।






