काठमाडौं , असोज १। संघीय संसद् प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामाथि सामान्य छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
उक्त सम्झौता राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिर रहेका समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण र दिगो प्रयोगसँग सम्बन्धित रहेको छ । प्रतिनिधिसभामा प्रस्ताव प्रस्तुत भएपछि सांसदहरूले सम्झौताका विभिन्न पक्षमाथि आफ्नो धारणा राख्नेछन् ।
यसैबीच आज संघीय संसद्अन्तर्गत विभिन्न तीन वटा संसदीय समितिका बैठकसमेत बस्ने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ ।
समितिका बैठकमा आ–आफ्नो क्षेत्राधिकारभित्र पर्ने समसामयिक तथा संसदीय विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिनिधिसभाको बैठकसँगै संसदीय समितिहरूको बैठकसमेत बस्ने भएकाले आज संसद्का विभिन्न गतिविधि सञ्चालन हुने भएका छन् ।






