स्रोत नखुलेको १३ लाख ६५ हजार नगदसहित भारतीय नागरिक पक्राउ



जनकपुरधाम, असोज १ । धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित खौनाका ३५ वर्षीय राधाकान्त बयार रहेका छन् ।

धनौजी गाउँपालिका–२ स्थित गोरदाहा–देउरी भित्री सडकखण्डमा मोटरसाइकल जाँच गर्ने क्रममा बयारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार बुधबार प्रहरी चौकी धनौजी (ख) बाट प्रहरी सहायक निरीक्षक राजकुमार मिश्रको नेतृत्वमा खटिएको गस्ती टोलीले लखौरीबाट गोरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा बयारले कपडाको पेटीभित्र नगद रकम राखेर कम्मरमा बाँधेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । उनको साथबाट १३ लाख ६५ हजार रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।

बरामद रकमको स्रोत खुलाउन नसकेपछि बयारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले रकम कहाँबाट ल्याइएको हो, कहाँ लैजान लागिएको थियो र यसको उद्देश्य के थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

बयारविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ९क० तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खनालले बताए ।

प्रहरीले घटनासँग सम्बन्धित अन्य पक्ष तथा रकमको स्रोतबारे समेत थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन १, बिहीबार ०८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको