मधेस प्रदेश सांसद जैनब खातुनको निधन



रौतहट, असोज १ । मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ । नेकपा एमालेबाट मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व गर्दै आएकी खातुनको उपचारका क्रममा बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको हो ।

रौतहटको फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको स्वास्थ्यमा बुधबार अचानक समस्या देखिएपछि उपचारका लागि वीरगञ्ज लगिएको थियो । उनका छोरा रौजन मियाँका अनुसार अचानक चिनीको मात्रा बढेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

खातुन रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिकतर्फ मधेस प्रदेशसभामा निर्वाचित भएकी थिइन् । उनले प्रदेशसभामा रहेर आफ्नो क्षेत्र तथा समुदायका विभिन्न विषय उठाउँदै आएकी थिइन् ।

उनको निधनको खबरसँगै परिवार, आफन्त, शुभेच्छुक तथा एमालेका स्थानीय नेता–कार्यकर्ताले दुःख व्यक्त गरेका छन् । खातुनको निधनले मधेस प्रदेशसभामा एक सांसदको स्थान रिक्त भएको छ ।

 

प्रकाशित मिति: २०८३ आश्विन १, बिहीबार ०७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको