काठमाडौं, असोज १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवै पक्षबाट अघि बढाइएका महाधिवेशन प्रक्रिया स्थगित गरी समझदारी खोज्न प्रस्ताव गरेका छन ।
बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद, गुटबन्दी र सम्भावित विभाजनप्रति चिन्ता व्यक्त गर्दै कार्यकर्ताको भावना सम्बोधन हुने गरी एकताका लागि मध्यमार्गी बाटो अपनाउन आग्रह गरेका हुन ।
कांग्रेसको महाधिवेशनलाई लिएर पार्टीभित्र दुईवटा प्रक्रिया अघि बढिरहेका छन् । संस्थापन पक्षले असोज २ र ४ गतेदेखि १५औँ महाधिवेशनको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिरमा महाधिवेशन गर्ने तयारी गरेको छ ।
कोइरालाले आसन्न दुईवटा महाधिवेशन प्रक्रियाले पार्टीको आन्तरिक एकतामा थप असर पार्न सक्ने भन्दै दुवै पक्षले अघि बढाएका प्रक्रिया रोक्नुपर्ने धारणा राखेका हुन ।
उनले कांग्रेसभित्रको विवादले पार्टी मात्र नभई देशको लोकतान्त्रिक आन्दोलनसमेत प्रभावित हुन सक्ने उल्लेख गर्दै आरोप–प्रत्यारोपभन्दा संवाद र समझदारीमार्फत समाधान खोज्न आग्रह गरेका छन ।
आफ्नो प्रस्तावलाई मध्यमार्गी धारणा भन्दै कोइरालाले पार्टीलाई गुटबन्दीबाट मुक्त गरी एकताबद्ध बनाउन कठिन भए पनि यही बाटोबाट अघि बढ्नुपर्ने बताएका हुन ।
उनले पार्टीभित्रै सहकर्मीमाथि असुरक्षा, अपमान र घृणाको वातावरण सिर्जना गरेर संगठन बलियो बनाउन नसकिने धारणा व्यक्त गरेका छन ।
कोइरालाले कांग्रेसका गाउँ, टोल, केन्द्रदेखि विदेशमा रहेका कार्यकर्तालाई समेत आन्तरिक खिचातानी छाडेर पार्टी एकताका लागि भूमिका निर्वाह गर्न अपिल समेत गरेका हुन ।
यसअघि मंगलबार कोइरालाले संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियालाई अस्वीकार गर्न आह्वान गरेका थिए । त्यसको दुई दिनपछि उनले दुवै पक्षको प्रक्रिया रोक्दै समझदारी खोज्नुपर्ने प्रस्ताव अघि सारेका हुन ।






