कृष्णभीरको सडक अठार दिनपछि दुईतर्फी यातायात सञ्चालन



चितवन, असोज १ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको सडक १८ दिनपछि दुईतर्फी यातायात सञ्चालनमा आएको छ । भदौ १४ गते आएको बाढीका कारण सडकको ठूलो हिस्सा बगेर यातायात प्रभावित बनेपछि नयाँ ट्र्याक निर्माण गरी बिहीबार बिहानदेखि नियमित रूपमा सवारी सञ्चालन गरिएको हो ।

त्रिशूली नदीको कटानका कारण कृष्णभीरमा करिब १०० मिटर सडक क्षतिग्रस्त भएर पूर्ण रूपमा भासिएको थियो । सडक अवरुद्ध भएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर वैकल्पिक ट्र्याक निर्माण सुरु गरिएको थियो ।

नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म नयाँ ट्र्याक निर्माण तथा आवश्यक सडक व्यवस्थापनको काम सम्पन्न गरिएको थियो । त्यसपछि बिहीबार बिहानदेखि दुवैतर्फबाट सवारीसाधन सञ्चालन गरिएको हो ।

सडक पुनः सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी काम तीव्र बनाइएको थियो । केही दिनदेखि सडकमा रोकिएका सवारीसाधनलाई समेत क्रमशः कटाउने व्यवस्था गरिएको थियो । बिहीबारदेखि भने नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको हो ।

कृष्णभीरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको यातायातसमेत नियमित गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरको समस्या समाधान भएपछि तत्कालका लागि तुइन खोलामा रोकिएको काम स्थगित गरिएको जानकारी दिएका छन् ।

कृष्णभीरको सडक लामो समय अवरुद्ध हुँदा ठूला सवारीसाधनलाई राजधानी काठमाडौं आवतजावतमा समस्या भएको थियो । सडक अवरोधका कारण काठमाडौं उपत्यकामा एलपी ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा समेत असर परेको थियो ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीमा जलसतह बढेको थियो । त्यसपछि भदौ १४ गते आएको थप बाढीले कृष्णभीरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो । कृष्णभीरमा मात्रै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गर्छन् ।

प्रकाशित मिति: २०८३ आश्विन १, बिहिवार ०८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको