जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्विरोध



जनकपुरधाम, असोज २ । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा। सीके राउत निर्विरोध निर्वाचित भएका छन्। पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार अध्यक्ष पदका लागि मनोनयन दर्ता हुँदा राउतको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।

अध्यक्ष पदमा राउत निर्विरोध भए पनि अन्य पदमा भने निर्वाचन हुने भएको छ। जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगञ्जमा हुँदैछ।

प्रारम्भिक उम्मेदवार सूचीअनुसार सात जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको छ। महासचिव पदमा ममता झा (सप्तरी), चन्दनकुमार सिंह (महोत्तरी) र सञ्जयकुमार यादव (सिरहा)ले उम्मेदवारी दिएका छन्।

एक जना निर्वाचित हुने उपमहासचिव पदमा सिरहाका निर्मल कुमार मण्डल र रौतहटका ललितचन्द्र मल्लिकबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै, सात जना निर्वाचित हुने सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ। सचिव पदमा धनुषाका सन्तोषकुमार सहनी, सप्तरीका सुरेन्द्र शर्मा मधेशी, रौतहटका हरेन्द्र चौधरी, महोत्तरीकी अञ्जनीदेवी, सिरहाका रोहित महतो, बाराका पारसप्रसाद साह, बाँकेकी राधाकुमारी यादव, नवलपरासीका बालगोविन्द चौधरी, महोत्तरीका वीरेन्द्र महतो ‘जीवन त्यागी’ र बाराका रामबाबु साहले उम्मेदवारी दिएका छन्।

केन्द्रीय कार्यकारिणी सदस्य पदमा पनि विभिन्न जिल्लाबाट ठूलो संख्यामा उम्मेदवारी परेको जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेशकुमार मण्डलले जानकारी दिएका छन्।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, कपिलवस्तु, रुपन्देही, सर्लाही, बाँके, मोरङ, झापा, नवलपरासी पश्चिम, काठमाडौं, बर्दियालगायत जिल्लाबाट कार्यकारिणी सदस्यका लागि उम्मेदवारी परेको छ।

महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशाबारे समेत निर्णय गर्ने जनाइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १६:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको